२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सभामुख सापकोटा संसदीय प्रणालीकै कलंक हुन्ः अध्यक्ष ओली

१३ कात्तिक, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिनु भएको छ ।

अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरी संसदमा पाईला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए । नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोप समेत लगाए ।

अध्यक्ष ओलीले एमाले विरुद्धको षडयन्त्रमा सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दावी समेत गरे । उनले प्रचण्डको निर्देशनमा सापकोटाले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘अग्नी सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरी निर्वाचित भएर संसदमा पाईला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन । नेकपा एमालेको विरुद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन ।’

प्रकाशित मिति : October 30, 2021 at 7:22 pm