५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाकिस्तानी ‘हिरो’ आसिफ, जसले छोरी गुमाउँदासमेत विश्वकप खेलेका थिए


१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकप २०२१ को सुपर–१२ अन्तर्गत समूह २ को खेलमा अफगानिस्तानविरुद्ध पाकिस्तान ५ विकेटले विजय भयो । जारी प्रतियोगितामा आफ्नो लगातार तेस्रो जित हात पार्दै पाकिस्तानले सेमिफाइनलमा लगभग स्थान पक्का गरेको छ ।

पाकिस्तान ६ अंकसहित समूह २ मा शीर्ष स्थानमा छ । उसले शुक्रबार अफगानिस्तानसँग संघर्षपूर्ण जित हात पार्‍यो । यूएई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

जवाफी व्याटिङमा उत्रिएको पाकिस्तानले मोहम्मद रिजवानलाई सुरुवातमा गुमायो । तर, कप्तान बाबर आजमले टोलीलाई खेलमा फर्काए । फखर जमानले पनि ३० रनको पारी खेले । खेलमा पाकिस्तान विजयतर्फ बलियो रूपमा अघि बढिरहेको थियो ।

कप्तान बाबर आजम र अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले उत्कृष्ट इनिङ्स खेल्दै विजयी ह्याट्रिकको दौडमा थिए । त्यतिबेला स्पिनर राशिद खान बलिङ गर्न आए र पहिलो पटक मोहम्मद हफिजलाई आउट गरे ।

त्यसपछि राशिदले १२२ रनको स्कोरमा बाबर आजमलाई बोल्ड गरे भने १८औं ओभरको अन्त्यमा नवीन उल हकले पनि शोएब मलिकलाई प्याभिलियनको बाटो देखाए । अब २ ओभर मात्र बाँकी थियो र पाकिस्तानलाई अझै जितका लागि २४ रन चाहिएको थियो ।

त्यसपछि पीचमा आए आसिफ अली र शादाब खान । अफगानिस्तानले खेललाई ट्र्याप गरेजस्तो देखिन्थ्यो भने खेल रोमाञ्चक बनिरहेको थियो । अफगानिस्तानका तीव्र गतिका बलर करिम जानत बलिङ गर्न आए । यस ओभरको पहिलो, तेस्रो, चौथो र पाँचौं बलमा आसिफले ४ छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए ।

अन्तिम ओभरमा जाने अपेक्षा गरिएको खेल आसिफले ५ बलमा समाप्त गरे । आसिफले ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २४ रन खेल्दै पाकिस्तानलाई लगातार तेस्रो जित दिलाए । न्युजिल्यान्डविरुद्ध शारजाहमा भएको अन्तिम खेलमा पनि आसिफले लक्ष्य पछ्याउने क्रममा अन्तिम मिनेटमा धमाकेदार प्रदर्शन गरेका थिए । उक्त खेलमा आसिफले १२ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन खेलेका थिए ।

को हुन् आसिफ अली ?

पाकिस्तानी टोलीका लागि लगातार दुई खेलमा ‘हिरो’ बनेका खेलाडी हुन्, आसिफ अली । ३० वर्षीय आसिफको जन्म १ अक्टोबर १९९१ मा पाकिस्तानको फैसलाबादमा भएको थियो । उनले झण्डै ८ वर्षसम्म घरेलु क्रिकेटमा आफ्नो जादु देखाइरहे ।

तर, उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका पाएनन् । आसिफले २०१७ मा पोखराबाट ईपीएलसमेत खेलेका थिए । ईपीएलमा उनको प्रदर्शन भने सम्झनलायक रहेन । उनले २०१८ मा पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । सोही वर्ष उनले पाकिस्तानका लागि एकदिवसीय र टी–२० खेल्ने मौका पाए ।

१ अप्रिल २०१८ मा उनले वेस्ट इण्डिजविरुद्ध डेब्यु गरेका थिए। उक्त खेलमा पनि उनले सम्झनलायक प्रदर्शन गर्न सकेनन् र एक रनमा आउट भएका थिए । सोही वर्ष जुलाईमा जिम्बावेविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनले उक्त खेलमा ४६ रन बनाएका थिए ।

२०१९ मा पाकिस्तानको एकदिवसीय विश्वकप टोलीमा पर्नु अघि उनले छोरीलाई गुमाएका थिए । सो समयमा पाकिस्तानले इंग्ल्याण्डसँग पाचौं एकदिवसीय खेल खेलिरहेको थियो । उनकी २ वर्षीय छोरी नुर फतिमा क्यान्सरको चौथो तथा अन्तिम चरणमा थिइन्।

छोरीको मृत्युको बाबजुद पनि उनी देशको लागि विश्वकप खेलेका थिए । आसिफ सधै ‘पावर हिटर’ र फिनिसरको रूपमा चिनिन्छन् । हाल उनी टी–२० विश्वकपमा पनि त्यस्तै गरिरहेको देखिन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १५:४२