५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

खेलकुद ऐन विकासमा बाधा पुग्ने बुँदा परिमार्जन गर्न सकिन्छ: मन्त्री गहतराज


१० कात्तिक, काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सम्मानमा बुधबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।

बुधबार राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताको शुभकामना दिएका थिए ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताएका छन् ।

उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धतासमेत जनाए । उपाध्यक्ष कोइरालाले चाँडोभन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुङ्ग्याउनु पर्नेमा जोड दिएका थिए ।

खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमीकमजोरीलाई सच्याउनु पर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार २०:२१