१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

एएफसी एसियन कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ


१ कात्तिक, काठमाडौँ । अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल यू-२३ टोलीलाई बिदाइ गरेको छ ।

सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकारीले बिदाई गरे ।

२३ जना खेलाडी र १२ जना अफिसियलको टोली छनोट खेल खेल्न बुधबार (भोलि) बिहान ९ बजे आयोजक ताजकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । प्रशिक्षक बाल गोपालले घोषणा गरेको टोलीमा ११ खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् । शनिबार समापन भएको साफ खेल्ने टोलीबाट यू-२३ टोलीमा छ जना खेलाडी रहेका छन् ।

हाल मनीष डाँगी, आयुष घलानसँगै सुरज जिउ ठकुरी, नितिन थापा, गौतम श्रेष्ठ र सुमन अर्याल राष्ट्रिय टोलीमा छन् । यस्तै, अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल सुनार, राजन गुरुङ, एरिक बिष्ट भने हालको टोलीबाट बाहिर रहेका छन् । विशालबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीबाट डेब्युसमेत गरिसकेका छन् ।

एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, आयोजक ताजकिस्तानसँग २८ अक्टोबरमा तथा ३१ अक्टोबरमा लेबनानलाई चुनौती दिनेछ ।

नेपाली टोलीमा गोलरक्षक- अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू, मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट, स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन रहेका छन ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १८:४१