१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कञ्चनपुरमा चौधरी समुदायका कृषक दुई दशकदेखि तरकारीखेतीमा आबद्ध

६ साउन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् ।

गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् ।

समूहका पूर्व अध्यक्ष परदेशी डगौँराले २०५२ सालमा समूह गठन गरेर गाउँका किसान एकबद्धरूपमा तरकारीखेतीमा लागिरहेको बताउनुहुन्छ ।

“शुरुमा समूह गठन गरेर आयमूलक व्यवसायमा लाग्दा १७ जना गाउँले थियौँ ।” उहाँ भन्नुहुन्छ, “अहिले छोरानाति पनि समूहमा लागेर व्यवसाय गर्दैछन् ।”

जिल्लाकै पुरानो कृषक समूह भए पनि कुनै निकायबाट कृषि सामग्री तथा कुनैखाले सहयोग नपाएको समूहका अध्यक्ष बालकृष्ण डगौँराको दुखेसो छ ।

“कागजमा समूह बनाएर अनुदान पाउने धेरै होलान् ।” उहाँ जोड दिनुहुन्छ, “हामी जीविकोपार्जन गर्नेहरुलाई कसैले हेरेन । केही वर्षअघि जिल्ला कृषि विकास कार्यालयले धानको बीउ उपलब्ध गराए पनि त्यसयता कुनै सहयोग पाइएको छैन। ”

“सम्बन्धित निकायमा हाम्रो पहुँच नभएरै होला सहयोग नपाएको ? ।” अध्यक्ष डगौँरा भन्नुहुन्छ, “आफैँ लगानी गरेर उत्पादन गरेको तरकारी बेलाबखत बिक्रीका लागि समस्या हुन्छ ।”

समूहमा आबद्ध किसानलाई ऋण दिएबापत समूहले एक प्रतिशत ब्याज लिने गरेको छ । समूहबाट किसानले तरकारीलगायत अन्य आयमूलक कामका लागि रु एक लाखसम्म पनि ऋण लिएका छन् ।

रु १५ लाख ४३ हजार कारोवार रहेको कृषक समूहले रु १४ लाख ५६ हजार समूहभित्रै ऋण लगानी गरेको जानकारी दिँदै अध्यक्ष डगौँरा भन्नुुहुन्छ, “एक दुई बिगाहासम्म पनि तरकारी लगाइएको छ तर स्थानीय झलारी बजारदेखि गाउँ गाउँसम्म तरकारी खपतका लागि डुलाउनु परेको छ ।”

सरकारले पनि कृषिमा लगानी बढाएका समाचार सुन्ने गरेको भए पनि आफूहरुलाई सहयोग नभएको समूहका सचिव धर्मसिंह चौधरी बताउनुहुन्छ । “गाउँमा बेरोजगार युवा पनि पछिल्लो समय तरकारीखेतीमा लागेका छन् ।” सचिव चौधरी भन्नुुहुन्छ, “तर स्वदेशमा लागिरहेका युवालाई कहीँबाट प्रोहत्सानसम्म छैन ।”

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १५:१३