१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नुवाकोटमा स्वास्थ्य चौकी इन्चार्जको मनोमानी, कामै नगरी १५ दिनको हाजिर एकैपटक

–प्रशान्तजंग पाण्डे
६ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको बेलकोट स्वास्थ्य चौकी इन्चार्चका कारण अस्तव्यस्त बनेको छ । इन्चार्च मुना आचार्यले विभिन्न बहाना बनाएर पटक पटक विदाबस्दा स्वास्थ्यचौकी अस्तव्यस्त बनेको वडा नम्बर ११ का वडा अध्यक्ष एवम् स्वास्थ्य चौकीका अध्यक्ष रामहरि पाण्डेले बताएका छन ।

मुना बेलकोटमा इन्चार्ज भएर गएदेखि नै कहिल्यै पनि काम गरेकी छैनन् । स्वास्थ्य चौकीमा कार्यरत एक जना नर्सका अनुसार उनले पछिल्लो पटक असार २४ मा आफ्नो बिदा सकिएपनि कार्यालय नगई एकै पटक साउन ४ गतेमात्रै गएर सबै हाजिर गरेकी छिन । यसरी जागिरमात्र खाने नियत भएका व्यक्ति स्वास्थ्यचौकीको इन्चार्ज भएपछि अन्यले पनि राम्रोसँग काम गर्ने वातावरण पाएका छैनन ।

मुनाले स्वास्थ्य चौकीमै नगएको समयको समेत हाजिर गरेको पाइएपछि दैनिकीले सम्पर्क गरेको थियो । उनले दैनिकीसँग आफूले एकै पटक हाजिर गरेको स्वीकार गर्दै दिनदिनै स्वास्थ्य चौकी गएर हाजिर गर्न नभ्याएकाले एकैपटक गरेको बताइन ।

इन्चार्जको हाजिरीको विषयमा अध्यक्षसँग जिज्ञासा राख्दा पाण्डेले आफूलाई पनि कर्मचारीले उक्त गुनासो गरेको र उनले स्वास्थ्य चौकीमा सेवा गर्न अटेरी गर्दै आएको बताए । उनले आफूले पनि कारबाहीको लागि सिफारिस गर्ने बताए । स्थानीयहरुले स्वास्थ्य चौकीबाट सेवा नपाएको भन्दै गुनासो गर्ने गरेका छन ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १४:१९