उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा
६ साउन, दाङ । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्र्योट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् ।

तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्ता भएकामा ७० वटा मुद्दा फछ्र्योट भई १८ वटा मुद्दा विचाराधीन अवस्थामा छन् भने सम्बन्धबिच्छेदका २१ वटा मुद्दा दर्ता भएकामा १९ वटा फछ्र्योट भई दुई वटा मुद्दा विचाराधीन अवस्थामा छन् ।
नागरिकलाई छिटो छरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क निवेदन लेखिदिनाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइएको र समयमै प्रभावकारी रुपमा काम गर्न सफल भएको उक्त अदालत मुख्य न्यायाधीश नहकुल सुवेदी बताउनुभयो ।
उहाँले थुनुवा तथा असहाय, आर्थिक रुपमा विपन्न बालबालिका आदि पक्ष भएका मुद्दामा वैतनिक कानून व्यवसायी, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत कार्यक्रम, न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रुपमा भइरहेको बताउनुभयो ।
प्रकाशित मिति : July 22, 2018 at 12:23 pm







