१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

६ साउन,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ ।
शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र यथार्थ प्रगतिको जानकारी लिन उक्त आयोजनाको अवलोकन गरिएको जनाउनुभयो ।

“आयोजनाको ल्याब, क्रसर उद्योग, सिगमेन्ट निर्माण कारखाना र मुख्यगरी करीब छ किलोमिटर निर्माण भइसकेको सुरुङमार्ग हेरेका छौँ । छोटो समयमा यसको उत्साहजनक र प्रशंसा गर्न लायक काम भएको छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीका अनुसार तीव्र गतिमा बनिरहेको नेपाल सरकारको सबैभन्दा सस्तो लगानीको यो आयोजनाले कर्णाली प्रदेश र ५ नं प्रदेशको समृद्धिको ढोका खोल्न सहयोग पुग्ने छ ।

आयोजनाको कार्य प्रगति ४९ प्रतिशत

४ जुन २०१५ मा ठेक्का सम्झौता भई गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटर उक्त बहुउद्देश्यीय सुरुङ निर्माण आयोजनाको कार्य प्रगति ४९ प्रतिशत भएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिनुभयो । निर्देशक बस्नेतका अनुसार आठ महिनामा ४९ प्रतिशत काम भएको हो ।

भेरी बबई डाइभर्सन आयोजनाका ड्याम बाँध्दा सुर्खेतमा ३२ हेक्टर जमीन डुबान पर्ने भएको बताउँदै त्यस क्षेत्रको समुदायको व्यवस्थापनमा सहयोग गर्न निदेशक बस्नेतले मुख्यमन्त्री शाहीसँग अनुरोध गर्न भएको थियो । आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने उहाँले बताउनुभएको छ ।

आयोजनाबाट प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न भएपश्चात् प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व रु तीन अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट रु चार अर्ब आम्दानी हुने आयोजनाका निर्देशक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : July 22, 2018 at 11:10 am