सरकारलाई काम गर्न नदिने षडयन्त्र भयोः पूर्वप्रम नेपाल
५ साउन, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताउनुभएको छ ।
पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा आज पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा उहाँले नयाँनयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको छ भन्नुभयो ।

नेता नेपालले सरकारका राम्रा कामको समर्थन गर्न र रचनात्मक सुझाव दिन आग्रह गर्दै अनुचित माग पूरा गर्नुपर्ने बाध्यतामा सरकार नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा उहाँले पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणमा खेलेको योगदानको चर्चा गर्दै पुष्पलालले देखाउनुभएको बाटोमा अहिले कम्युनिष्ट पार्टी एकै ठाउँमा एकताबद्ध भएको बताउनुभयो ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका नेता रघुजी पन्त, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, दिलीप प्रजापति, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला संयोजक डिपी ढकाललगायतले पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणमा खेलेको योगदानको चर्चा गर्नुभयो ।
प्रकाशित मिति : July 21, 2018 at 10:14 pm









