१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकी सरकारको सम्मान

५ साउन, काठमाडौँ । बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) का निर्देशक गणेश पाण्डेलाई अमेरिकामा सम्मान गरिएको छ । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले निर्देशक पाण्डेलाई सम्मान गरेको हो ।

नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यूजर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ । न्यूजर्सी सिटीकी सल्लाहकार डा. विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । न्यूजर्सी सिटीबाट यो विशेष सम्मान पाउने निर्देशक पाण्डे पहिलो नेपाली फिल्ममेकर भएको सल्लाहकार डा. परियारले बताइन् ।

न्यूयोर्कमा युनाइटेड शेर्पा एशोशियशन र यूएसनेपाल अनलाइनले संयुक्त रुपमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन गरेका थिए । कार्यक्रममा युएसनेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीहरुलाई विश्वचर्चित ‘भाग्यले बाँचेकाहरु’ देखाउन पाउँदा आफूहरु निकै खुसी भएको बताए । बैशाख १२ गतेको भूकम्पलाई विदेशी भूमिमा बसेर पर्दामा हेर्दा अधिकांश दर्शकहरु भावुक बनेका थिए ।

१७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल ‘भाग्यले बाँचेकाहरु’ले बेलायतको संसदमा समेत प्रदर्शन हुने पहिलो नेपाली डकुमेन्ट्रीको इतिहास राखेको छ । ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १३:२७