१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दुर्घटनामा परेका पत्रकार खनालको निधन

४ साउन,भद्रपुर । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ ।

नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षको हुनुहुन्थ्यो ।

बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा गएराति खनालको निधन भएको उहाँका भतिजा भानुभक्त खनालले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उहाँलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो ।

ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

मृतकको शवलाई कनकाई नदीमा आजै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।

विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिनुभएका खनालको बिर्तामोड–४ बसोबास थियो ।

उहाँले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गर्नुभयो भने मेरो अमेरिका यात्रा र बेलाबेलाको बोली नामक दुई वटा कृति प्रकाशित गर्नुभएको थियो । उहाँका एक श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार ११:३५