२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी (सूचीसहित)


२३ भदाै, काठमाडाैँ । आज ८ सेप्टेम्बर अर्थात् ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस । नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन् ।

नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । हालै मात्र काठमाडौं महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो ।

साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन्
प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन । जबकि काठमाडाैं देशमै सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला मात्र हाेइन मुलुककै राजधानी पनि हाे । नेपालकाे पहिलाे महानगरपालिका काठमाडाैं पनि २१ भदाैमा मात्र साक्षर घाेषणा भएकाे थियाे ।

यसैगरी, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् ।

लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०९:०६