१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जीवित सालक नुवाकोटबाट काठमाडौँ लैजाँदै गर्दा धादिङका ३ जनासहित ६ पक्राउ

१५ भदौ, धादिङ । धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन् । झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौँ लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनामध्ये तीनजना धादिङका रहेका छन् । पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र सालकलाई भने जिल्ला वन कार्यालय धादिङमा बुझाइएको एसपी खड्काले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सालकलाई अदालतको निर्णयपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन् । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ ।

वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १३:३९