१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लागुऔषध कारोवारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै २ नम्बर प्रदेश

११ भदाै, जनकपुर । लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा बुधवार मात्रै प्रदेशका विभिन्न तीन जिल्लाबाट ७ जना पक्राउ गरियो । महोत्तरीबाट २, बाराबाट २ र सिरहाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीको गौशालानगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई महोत्तरी प्रहरीले औरही नगरपालिका–४ कठुधारस्थित सम्सी गौशाला सडकखण्डबाट पक्राउ गरियो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाइट्राभेट ट्याबलेट प्रहरीले बरामद गरेको छ ।

प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।

त्यसैगरी, बुधवार नै प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरियो । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबाले पथलैयाबाट ना ४६ प ५९३१ नम्बरको मोटरसाइकलमा १५ किलो गाँजा लिएर जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो । पिठ्युँमा बोक्ने झोलामा गाँजा लिएर जाँदै गर्दा प्रहरीले शंका लागेपछि जाँच गर्दा उनीहरु पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

त्यसैगरी, सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई बुधवार नै पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् ।

उनीहरुलाई लहान नगरपालिका ५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । त्यसैगरी, १ भदौमा पनि धनुषा प्रहरीले १ सय २० किलो गाँजासहित एक युवालाई पक्राउ गरेको थियो ।

जनकपुरधामको मुरली चोकबाट प्रहरीले गाडीलाई जाँज गर्ने क्रममा हेडौंटा उपमहनगरपालिका-१९ बस्ने ३२ वर्षिय बहादुर ब्लोनलाई गाँजासहित पक्राउ गरिएको छ । ब्लोनले बा ५ च १४० नम्बरको पिकआफ गाडीमा पानीको ट्यांकीभित्र प्लास्टिकमा बेरिएर राखेको अवस्थमा प्रहरीले १ सय २० किलो गाँजा बरामद गरेको हो ।

यसरी, प्रदेश २ का जिल्लाबाट प्राय दिनहुँ लागुऔषध कारोवारी तथा सेवनकर्ता समातिरहेका छन् । प्रदेश २ प्रहरी प्रमुख कार्यालयअनुसार गत आर्थिक वर्ष ९ सय ९९ जनालाई लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । चालु आर्थिक वर्षको भदौको पहिलो सप्ताहसम्ममा ९७ जनालाई लागुऔषध कारोबारमा पक्राउ गरिएको छ ।

समातिएका कारोवारीको तथ्यांक केलाउँदा प्रदेश दुई लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको देखिएको छ । भारतसँगको खुल्ला सिमानाको कारण प्रदेश २ मा लागुऔषधको कारोवार फष्टाएको जानकार बताउँछन् । लागु औषध कारोवाहरीले खुल्ला सिमानाको फाइदा उठाउदै सहज रुपमा गाँजा, अफिम, चरेसलगायतका प्रतिबन्धित समानहरु भारत पठाउने गरेको छ । प्रहरी तथ्यांकअनुसार गाँजा, अफिम र चरेस देशभित्रैबाट उत्पादन हुने गरेको छ । हेरोइन,कोकिन तथा विभिन्न ट्याब्लेट्स र कोरेक्स बोतलहरु भने भारतलगायत मुलुकबाट नेपाल आउने गरेको छ ।

खुल्ला सीमानाको साथ साथै युवाहरुमा बढ्दो बेरोजगारी, कोरोनाका कारण विद्यालय तथा क्याम्पसहरु बन्द हुँदा युवाहरुको आकर्षण लागुऔषधतर्फ आकर्षित भएको जानकारको भनाइ छ । विचौलियाहरु पक्राउ परे पनि मुख्य कारोवारी पक्राउ नपर्दा लागुऔषधको ओसारपोसारमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मनोज कुमार बस्नेतले बताए । प्रहरीले लागुऔषध विरुद्ध सक्रिय भएकोले कारोवारीहरु धामधम पक्राउ परिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १६:०२