२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त


१० भदाै, काठमाडाैँ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । भदाै १० गते बसेको बैंकको सञ्चालक समितिको  बैठकबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेकाे हाे । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ पनि ग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । साथै, नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष श्री सुमनराज अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय श्री निलम शर्मा ढुंगाना र श्री बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु श्री दीपेन्द्र विक्रम थापा, श्री सुमन दाहाल, डा.सावित्री रञ्जित श्रेष्ठ, श्री विवेक शम्शेर ज.ब.रा., श्री विष्णु कुमार अग्रवाल र श्री ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए । साथै, उक्त कार्यक्रममा बैंकका का.मु.नायब प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:२८