एमाले केन्द्रीय कमिटी बैठकका निर्णय यस्ता छन्
१०, भदाै, काठमाडाैँ । नेकपा एमालेले असोज मसान्तभित्र संगठित सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ । बिहिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।
यस्तै बैठकले भदौ १६ देखि २० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
गसैगरि भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेकाे छ । त्यस्तै, बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले देशैभरीका वडा अधिवेशन कात्तिक ६ गते र पालिकाहरूको अधिवेशन कात्तिक ९ भित्र गरिसक्ने निर्णय गरेको छ ।
यसैगरि, आजको बैठकबाट १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौँमा गर्ने निर्णय पनि पारित भएको छ ।
यस्तै बैठकले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने निर्णय समेत गरेकाे छ । बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।
यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने समेत उनले बताए ।
हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।
प्रकाशित मिति : August 26, 2021 at 4:30 pm










