एकीकृत समाजवादी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र २९ संघीय सांसदको सनाखत
९ भदाै, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले ५५ केन्द्रीय सदस्यकाे हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ । ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको सनाखत भएको छ।
तर मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत भएन । सनाखतका लागि आएका ४ जना सांसदलाई मान्यता दिनुपर्ने भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए।
उनीहरुले मंगलबार निवेदन दिएकालाई तोकेको समयमै सशरीर उपस्थित भएपछि मान्यता दिएर सनाखत गराउन आयोगसँग माग गरेका थिए। आयोगले बुधबार बिहान साढे ११ बजे ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको नामावली टाँस गरेको थियो।
तर, नेपालले उक्त सूचीमा नअटे पनि आयोगमा उपस्थित भैसकेका सबैको सनाखत गर्न माग गरेका थिए। नेपालसहितको टोली र प्रमुख आयुक्त दिनेश थपललियाबीच छलफल भए पनि कुरा नमिलेको हो। आयोगले सनाखत गर्न तोकेको समय २ बजे सकिसकेको थियो। नेता झलनाथ खनालको भने दिल्लीस्थित दूतावासबाटै सनाखत गराउन निर्वाचन आयोग तयार भएको थियो।
प्रकाशित मिति : 14:48









