औपचारिकरुपमै २०७५ जेठ २ मा फर्कियाे एमाले, यस्ता छन् स्थायी कमिटीका निर्णयहरू
८ भदाै, काठमाडाैँ । नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । मंगलबार माधव नेपाललाई छाडेका नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको हाे ।
याेसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको हो । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला र सबै तहका कमिटीलाई २०७५ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए ।
प्रवक्ता ज्ञवालीका अनुसार एमालेले पार्टीको आन्तरिक एकताका लागि तयार भएको १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीको रुपमा लैजानेसमेत निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार ०७५ जेठ २ को अवस्थामा लैजाँदा आउने समस्या समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्टलगायतका नेताहरु रहेको कमिटी बनाइएको छ ।
यस्तै बैठकले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने तथा काठमाडौंमै आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
यसैगरि बैठकले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय समेत गरेकाे छ । बैठकपछि नेताहरूले एकताको सन्देश दिन सामूहिक फोटोसेसन समेत गराएका थिए ।
प्रकाशित मिति : 18:45









