३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

हामी चन्द्रागिरी होइन, तुल्सीलाल प्रतिष्ठान जान्छौँः योगेश भट्टराई

८ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले राखेको बैठकमा आफूहरु सहभागी नहुने बताएका छन् । एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि प्रक्रिया थालेका नेपाल समूहको बैठक काठमाडौँको चन्द्रागिरीमा चलिरहेको छ । पार्टी एकताको पक्षमा रहेको बताउने भट्टराईसहितका नेताहरु भने नेपाल समूहले राखेको बैठकमा सहभागी नहुने भएका हुन् ।

भट्टराईले भने, ‘हामी चन्द्रागिरी जाँदैनौँ’, तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा सहभागी हुन्छौँ ।’ तुल्सीलाल प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको सो बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ ।

लामो समय नेपाल समूहमा रहेका भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा, भीम आचार्य र अष्टलक्ष्मी शाक्य तटस्थ रहँदै आएका छन् । उनीहरुले गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीसामु दबाब सृजना गरेका छन् । सोही विषयमा मंगलबार बस्न लागेको स्थायी कमिटी बैठकमा छलफल हुने योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 15:12