३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सांसद शाही र वलीलाई पदमुक्त नगरेपछि एमालेले माग्यो सभामुखको राजीनामा

६ भदौ, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरे संसद चल्न नदिने चेतावनी दिएकाे छ ।

शाही र वलीलाई दलको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएकाे थियो । सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने भन्दै आइतबार जवाफ दिएका थिए ।

जवाफ पाएपछि एमाले संसदीय दलले आइतबार दिउँसाे पत्रकार सम्मेलन गरेर सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएकाे हाे ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

सभामुख घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।’

ढकालले सभामुख घर्तीले राजीनामा दिनुपर्ने समेत जनाएका छन् ।  ‘प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकुलको आचरण नगरेको प्रस्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन,’ ढकालले विज्ञप्तिमा भनेका छन् ।

 

प्रकाशित मिति : 15:45