३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन सरकारलाई एमालेको चेतावनी

३२ साउन, काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चाका बीच नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिएको छ । प्रतिनिधिसभाकाे सोमबार बसेको बैठकमा एमाले सांसद महेश बस्नेतले त्यस्तो अध्यादेश ल्याइए आजको दिन कालो इतिहास बन्ने चेतावनी दिए।

बस्नेतले भने, ‘संसदको अधिवेशन आजै अन्त्य गर्ने र नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याइँदैछ भन्ने सुनिएको छ । संसदीय व्यवस्थालाई चुनौती दिँदै यदि अध्यादेश ल्याउने निर्णय गर्‍यो भने कालो इतिहास हुनेछ’ ।

सरकारले संसदको अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले उपमहासचिव विष्णु पौडेलले केही दिनमै दल विभाजनसम्बन्धी अध्यादेश आउने आशंका व्यक्त गरेका थिए । नेकपा एमालेको माधव नेपाल पक्षलाई नयाँ राजनीतिक दल खोल्नका लागि अनुकूल हुने गरी सरकारले अध्यादेश ल्याउने गरेकाे हाे ।

दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत हुनुपर्ने प्रावधानलाई हटाएर संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेशमा ल्याउने तयारी गरिएकाे छ । यसअघि केपी शर्मा ओली सरकारले २०७७ जेठ ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । चौतर्फी विरोधपछि सरकारले सो अध्यादेश खारेज गरेको थियो ।

प्रकाशित मिति : 16:16