१ असार २०८३, सोमबार | Mon Jun 15 2026

भूकम्पका कारण जोखिममा परेका परिवारलाई एकीकृत आवास

१ साउन, पर्वत । भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ ।

जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरपरिवारलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने तयारी भएको हो ।

पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७ घर भूकम्पमा पूर्ण क्षति भएका थिए भने अन्य तीन घरसमेत जोखिममा रहेका कारण बस्ती स्थानान्तरण गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूगर्भविद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिममा भएकाले स्थानान्तरण गर्न सुझाव दिएका थिए । छतिवनको टारीमा एकीकृत आवास निर्माणका लागि २७ रोपनी जमिन सामूहिक रुपमा खरिद गरिएको छ ।

बिहादीको बजेट २५ करोड

बिहादी गाँउपालिकाको चौथो गाउँसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड १० लाख तीन हजारको बजेट पारित गरेको छ ।
गाउँसभाले पारित गरेको बजेटमा पूँजीगततर्फ रु नौ करोड ४७ लाख तीन हजार र चालुतर्फ रु १५ करोड ६३ लाख रहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष डम्मरकुमारी गुरुङका अनुसार सःसर्त अनुदानतर्फ रु १२ करोड ६३ लाख, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ६ करोड र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख ४७ हजार प्राप्त हुने बताउनुभयो । बिहादी गाउँपालिकाले आन्तरिक राजश्व रु २० लाख उठाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : July 17, 2018 at 4:28 pm