जिल्ला वन कार्यालयद्वारा जंगली जनावरबाट घाइतेलाई एक लाख सहयोग
३२ असार,बाजुरा । भालुको आक्रमणमा परी घाइते भएकी बाजुरा बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडालाई जिल्ला वन कार्यालय बाजुराले आज आर्थिक सहयोग गरेको छ ।
घर नजिकै रहेको वनमा घाँस काट्न गएका बेला गत मंसिर २५ गते भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
भालुको आक्रमणबाट घाइते भएका कारण उनलाई कानूनी प्रक्रियाअनुसार कार्यालयले रु एक लाख ९६ हजार ११२ चेकसहित हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय बाजुराका वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
आक्रमणमा उखेडाको बायाँ आँखासमेत गुमेको छ, आफन्त मदन विकले भन्नुभयो, “उपचारमा अहिलेसम्म रु ६ लाख खर्च भएको छ ।” उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको विकले बताउनुभयो ।
वन कार्यालयको उक्त सहयोगले उपचारमा थप राहत पुग्ने विश्वास आफन्तको छ ।
प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १८:५१