योगेश भट्टराईले संसदबाटै प्रधानमन्त्रीलाई भने, ‘तपाईंको समय अब सुरु भएको छ’
१९ साउन, काठमाडाैँ। पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको बताए ।
उनले ताप्लेजुङको वरिष्ठ अहेव लक्ष्मी वनेमले ९ घण्टामा ९४० जनालाई खोप लगाएको भन्ने समाचार उद्धृत गर्दै भने, ‘यो धेरै सुखद् समाचार हो, तर तथ्याङ्क यस्तो मात्र छैन ।’
उनले ६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको बताए ।
१० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उनले यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र ‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताए । उनले भने, ‘त्यसैले सम्माननीय प्रधानमन्त्रीजी कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् । धन्यवाद ।’
प्रकाशित मिति : 14:53









