माधव नेपाललाई नगदमै अध्यक्ष दिएर एमाले मिलाउने दोस्रो तहका नेताहरूको निष्कर्ष
१६ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नगदमै अध्यक्ष दिएर पार्टी एकतावद्ध बनाउने निष्कर्ष दोस्रो तहका नेताहरूले निकालेका छन । एमालेको विघटित एकता कार्यदलका सदस्यहरूबीचको करिब ३ घण्टाको छलफलमामा नेता नेपालका लागि नगदमै अध्यक्ष दिएर भएपनि कांग्रेस र माओवादी गमन रोक्ने प्रतिवद्धता नेताहरूले जनाएका छन ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकपछि एक सदस्यले दैनिकीसँग भने, ‘१० बुँदे सहमतिमा टेकेर दुई अध्यक्ष बनाएर पार्टी एकतावद्ध बनाउने निष्कर्ष निकालिएको छ ।’ बैठकपछि उपनेता सुवास नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको बताउँदै भने ‘हाम्रो बीचमा निरन्तर सम्पर्क छ, छलफल छ । हामी पार्टी एकताका पक्षमा निरन्तर लागि रहेकै छौं।’
त्यस्तै बैठकपछि नेता गोकर्ण विष्टले पनि पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको बताउँदै भने, ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यौं । हामीले कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ, यसबीचमा देखापरेका कतिपय समस्या र अविश्वास पनि हामीले थप प्रयत्नमार्फत समाधान गर्नुपर्छ भन्ने हिसाबले छलफल गर्यौं।’ धेरै ढिला गर्दा यसले पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने ढंगबाट छलफल भएको छ । १० बुँदे सहमति र दुईटा अध्यक्षको जुन प्रसँग चलेको छ, यसलाई मुख्य आधार बनाएर हामीले छलफल गरेका छौं।’
प्रकाशित मिति : 14:33









