राजनीतिलाई अपराधीकरण गर्न उद्दत युथफोर्स र अखिलफोर्स खारेज गराैँः सचिव भट्टराई
८ असोज, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी भित्रको गुटका नाममा तमासा गरिरहेका युथफोर्स र अखिल फोर्स खारेज गर्न माग गरेका छन । समाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार राति आफ्नो धारणा सार्वजनिक गर्दै सचिव भट्टराईले यस्ता खाले फोर्सहरूको कुनै काम नरहेको दाबी गरेका छन ।
सचिव भट्टराईले भनेका छन, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।’
उनले ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनर क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राख्ने काम गर्न नहुने बताएका छन ।
उनले युथ फोर्स र अखिल फोर्सको औचित्य माथि प्रश्न उठाउँदै अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नुपर्नेमा जोड दिएका छन । योगेशको प्रश्न छ, ‘के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्श र अखिल फोर्शले मात्र गर्नसक्ने रु पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्से हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे ।’
पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो भन्दै भट्टराईले प्रश्न गरेका छन । उनले त्यस्तो अवस्थामा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो भने आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्ने बताएका छन ।
शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुसरण गरेको नेकपा एमालेका लागि अखिल र युथ फोर्स नसुहाएको भन्दै सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यसको खारेजीमा विशेष ध्यान दिनुपर्ने बताएका छन ।
प्रकाशित मिति : 22:43









