१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मध्य भोटेकोशीले पुनः गर्याे आइपीओ निष्काशन, कसले दिन पाउँछ आवेदन ?

५ साउन, काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज देखि पुनः निष्काशन सुरु भएको छ । यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री निष्काशन गरिएको थियो । कोरोना भाइरसका कारण सरकारले निषेधाज्ञा लागुगरेसँगै वैशाख २४ गतेदेखि बिक्री स्थगन गरिएको थियो । तत्कालिन समयमा स्थगन भएको आईपीओको बिक्री पुनः निष्काशन गरिएको हो ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । यसअघि आवेदन दिएकाले पुन आवेदन दिनुपर्ने छैन ।

आईपीओमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । यस्तै सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौंका ७ वटा संकलन केन्द्रबाट आवेदन दिन सकिने छ । आयोजना प्रभावितले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावितका लागि ६० लाख कित्ता आइपीओ निष्कासन गरेकोमा १८ लाख कित्ता भोटेकोशी गाउँपालिकाको वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस तथा बाह्रबिसे नगरपालिका-५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयका लागि छुट्याईएको छ । बाँकी ४२ लाख कित्ता जिल्लाका अन्य स्थानीयले आवेदन दिन पाउनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १२:२०