२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

खैरो हिरोइनसहित वडाध्यक्ष अमेरिका सहनी पक्राउ

४ साउन, काठमाडौँ । पर्साको पकाहामैनपुर गाउँपालिका- १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका-१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए ।

प्रहरीले खैरो हेरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएका तीनै जनाविरुद्ध लागु औषध मुद्दामा आवश्यक कारबाही शुरू गरिने जनाएको छ। प्रहरीका अनुसार वडा सदस्य बलिष्टर एक वर्षअघि मात्रै लागू औषध (गाँजा) मुद्दामा धरौटीमा छुटेका थिए भने वडा अध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ ।

प्रकाशित मिति : July 19, 2021 at 11:06 am