प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु हाम्राे कर्तव्य हाेः रामकुमारी झाँक्री
३ साउन, काठमाडाैँ । नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । उनले विश्वासको मत दिनु आफूहरुको कर्तव्य नै भएको बताएकी छिन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत लेखेकस् छिन्, ‘हामीले ७६(५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।
अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो,’ झाँक्रीको भनाइ छ, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ।
त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’ प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिँदै छन् ।
प्रकाशित मिति : July 18, 2021 at 12:56 pm









