२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

बन्द हड्ताल नगर्न स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

२९ असार,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले आज देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरी यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिनुभएको छ ।

निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने स्पष्ट पार्नुभएको छ ।

यता नेपाल चिकित्सक संघले भने डा केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

यसैबीच, नेपाल चिकित्सक संघले छुट्टाछुट्टै समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र उज्ज्वल थापालगायतलाई भेट गरी जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलका नेताहरुसमक्ष भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गर्ने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १९:०५