२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

देउवाको निर्दलीय सरकारलाई माधव नेपालले मत दिने, सरकारमा पनि सहभागी हुने

३० असार, काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको निर्दलीय सरकारमा नयाँ पार्टी बनाउन नसकेर एमालेमै रहिरहेको माधवकुमार नेपाल समूह पनि सहभागी हुने भएको छ । सरकारमा सहभागिता भने विश्वासको मत दिएपछिमात्र हुने माधव समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवाले संसदमा विश्वासको मत माग्दा हामी दिन्छौँ, पुनस्थापति प्रतिनिधिसभाका सदस्य एवं एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । उनले अन्यलाइ विश्वासको मत दिन अनुरोध गर्ने तर अरू तयार नभए आफूहरूले विश्वासको मत दिएर देउवाको सरकार जोगाउने बताए ।

देउवालाइ प्रधानमन्त्री बनाइ पाउँ भन्दै एमालेका २३ सांसद सर्वोच्च अदालत पुगेका थिए । सो मध्ये एक चौधरी पनि हुन । सर्वोच्च अदालतले एमालेका २३ सांसदको समेत मागमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि उनीहरूले सरकारमा सहभागिताको विषयमा आन्तरिक रूपमा छलफल गरेका छन ।

स्रोतका अनुसार नेपाल समूह  तत्काल एमाले एकताको कुरा उठाउने बैठक बस्न लागे सहमतिमा बस्नुपर्छ भनेर रोक्दै जाने र विश्वासको मत दिएपछि नयाँ पार्टी बनाउने अभियान सुरू गर्दै सरकारमा सहभागी हुनेछन । नेपाल समूहका केही नेता इमान्दारिता पूर्वकनै पार्टी एकताको पक्षमा लागेका छन यद्यपी उनीहरू नयाँ पार्टी नबन्दासम्म एमालेमा रहने भन्नेमा प्रष्ट रहेको नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बताए ।

माधव समूहको सहभागिताका लागि नै देउवाले विश्वासको मत नलिँदासम्म पाँच सदस्यी मन्त्रिपरिषद्लाइ निरन्तरता दिने भएका छन । उनको मन्त्रिपरिषद्मा जनार्दन शर्मा, बालकृष्ण खाँड, पम्फा भुसाल र ज्ञानेन्द्र कार्की मात्र हुनुहुन्छ । माधव समूहले देउवालाइ विश्वासको मत दिने र सरकारमा पनि सहभागिता रहने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि एउटा टेलिभिजन अन्तरवार्तामा बताउनुभएको थियो ।

प्रकाशित मिति : July 14, 2021 at 9:25 am