१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

निर्वाचन आयोग पुगेर ठाकुर र यादवले भनेः एकैठाउँ बस्न सक्दैनौं,अलग गरिदिनूस्

२२ असार, काठमाडौँ ।  निर्वाचन आयोगलाई जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरुलाई अलग गरिदिन आग्रह गर्नुभएकाे छ ।  मंगलबार आयोग पुग्नुभएका अध्यक्ष ठाकुर र यादवले आफूहरु एकैठाउँ बस्न नसक्ने भन्दै अलग गरिदिन आग्रह गर्नुभएकाे हाे ।

ठाकुर पक्षका नेता अनिल झाले पार्टीलाई अलग गरिदिन माइन्युट गरिएको जानकारी दिनुभयाे । अध्यक्षद्वय ठाकुर र यादवले कानून बमोजिम आफूहरुलाई अलग गरिदिन आग्रह गरेको नेता झाले जानकारी दिनुभयाे । ‘माइन्युटको लास्टमा लेखिएको छ, हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार जाने,’ नेता झाले सञ्चारकर्मीहरूसँग भन्नुभयाे । झाले  भन्नुभयाे,‘आयोगमा हामीले छुट्टिने सहमति गर्‍यौं, कसरी छुट्टिने भन्नेबारे आयोगले निर्णय गर्ला,’

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए । दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ वैशाख १२ गते एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । एकता भएको एक वर्षपछि नै जसपा विभाजित हुने भएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १४:३६