२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

निर्वाचनको विरोध गर्ने विपक्षी कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैनः देवेन्द्र दाहाल

२१ असार, काठमाडाैँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गर्नुभएको छ ।  सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्थापना भएपछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उहाँले गर्नुभयो । उहाँले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत नभएको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत देखिएको छैन । ” उहाँले संसदीय अभ्यासको नाम गैह संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो । उहाँले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाईन लागेको टिप्पणी गर्नुभयो ।

सरकारले कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गर्नुभयो । उहाँले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गर्नुभयो । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपुर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताउनुभयो । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गर्नुभयो ।

प्रकाशित मिति : 14:13