११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

तनहुँमा रोपिसकेको धान खोलाले बगायो

१७ असार, दमाैली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताउनुभयो । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।

धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उहाँले भन्नुभयो, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी रु २० हजारभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो ।

उत्पादन हुने धान बेचेर गुजारा टार्दै आउनुभएका भण्डारीले यस वर्ष आफैँलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गर्नुभयो । खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमीन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका १०० बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।

अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताउनुभयो । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ”, उहाँले भन्नुभयो । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उहाँको गुनासो छ । “अब धानको बीउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रोपाइँमा करिब रु १० हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उहाँको खेत बगर बनेको छ । “ट्र्याक्टरलाई मात्र रु सात हजार दिएको छु, रोपार, आली लगाउने खेताला खोज्दा खर्र्च भयो । आफ्नो दुःखको त कुरै छाडौँ”, उहाँले भन्नुभयो, “लगानी खेर गयो ।”

तटबन्धन तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रूपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।

कृषि ज्ञान केन्द्र तनहँुका अनुसार म्याग्दे, व्यासलगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “वडागत रूपमा क्षति सङ्कलन गर्ने र सङ्कलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गर्छौँ ।” तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०९:३६