७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

यात्रुसँग बढी भाडा असुल्ने ८ जना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ

१६ असार , काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ८ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले काठमाडौँ बाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको बताउनुभयाे ।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यस्तै काठमाडाैँकाे कोटेश्वर र  चावहिलबाट बढी भाडा असुल्ने १–१ जना पक्राउ परेका छन् ।  कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चातको यो अवधिमा उपत्यका बाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणासम्म बढी भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिसकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : June 30, 2021 at 2:04 pm