एनआईसी एशियाकाे ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने,कति पाइन्छ ब्याज ?
६ असार, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
उक्त ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ । ऋणपत्र खरिदका लागि छिटोमा असार ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
प्रकाशित मिति : June 20, 2021 at 11:26 am









