प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२६ जेठ, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। सोमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ।
सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।
प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।
प्रकाशित मिति : 10:32









