१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

धितोपत्र बजारमा बजेटको सकारात्मक असर, १७ अर्ब २ करोड बढी काराेबार

१६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ ।

नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ ले वृद्धि भई ५०७.०५ मा पुगेको छ । कूल २१९ कम्पनीको कूल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर रु १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार २४५ मूल्यमा खरिद बिक्री भए । यो हालसम्मकै सबैभन्दा बढी कारोवार रहेको नेप्सेले जनाएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १९.९४, होटल तथा पर्यटन १३५.४४, विकास बैंक २५५.२५, वित्त ८३.९१, निर्जीवन बीमा ६४.१२, जीवन बीमा ९६.०१ र सामूहिक लगानी कोष ०.५५ अङ्कले बढेको छ । त्यस्तै, व्यापार ३२.६७, जलविद्युत् ०.६६, उत्पादन ५.३१, अन्य ५४.६४ र लगानी ०.२७ अङ्कले घटेको छ ।

साताको पहिलो दिनको कारोवारका आधारमा बजार पूँजीकरण रु ३९ खर्ब २४ अर्ब १५ करोड ४७ लाख १५ हजार २९७ बराबर पुगेको छ । कारोवारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४७ करोड ४० लाख ९० हजार २०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर रु ४६ करोड ९२ लाख ६३ हजार ७९०, युनाइटेड मोदी हाइड्रोपावर रु ४१ करोड ३१ लाख ४४ हजार ६७८, बुटवल पावर कम्पनी रु ४१ करोड २८ लाख ५७ हजार र अपि पावर कम्पनी रु ४० करोड १३ लाख ४२ हजार ८९० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेकाअनुसार ज्योति विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आँखु खोला जलविद्युत् कम्पनी ९.९६, घलेम्दी हाइड्रो ९.९६, गुडविल फाइइनान्स ९.९५ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । त्यस्तै, बरुण हाइड्रोपावर ६.५६, हिमालयन ऊर्जा विकास कम्पनी ६.२६, मिथिला लघुवित्त ५.४९, माउण्टेन हाइड्रो ५.३१ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : May 30, 2021 at 5:43 pm