भ्रष्टाचारले टाट पल्टियो साझा, छपाइका लागि दिएका पाण्डुलिपि स्रष्टाहरुले फिर्ता माग्न थाले
२३ असार, काठमाडौँ । भ्रष्टाचार र चरम वेथितिले साझा प्रकाशन टाट पल्टिएको छ । साझा प्रकाशनको महाप्रबन्धक हुन करोडौँ रुपैयाँ घुस खुवाएर जाने र उक्त पैसा उठाउनका निम्तिमात्रै काम गर्ने परिपाटीले साझा लामो समयदेखि थिलथिलो बनेको छ । अझ निजी प्रकाशन गृहका मालिक साझाको महाप्रबन्धक भएर आएपछि साझा प्रकाशन झनै जर्जर बनेको छ ।
साझाभित्र बसेर निजी प्रकाशन गृहलाई मोटो बनाउने अभियानमा लागेको महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारसँग रोइकराई गरेर करोडौँ रकम ऋण तिर्न लिए पनि उक्त पैसाको सदुपयोग नभएको साझाकै कर्मचारी गुनासो गर्छन । कांग्रेस नेता गोपालमान श्रेष्ठ शिक्षमन्त्री हुँदा भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेपनि पछि अदालतको सहारामा अन्तरिम आदेश लिएर शर्मा पुनः साझा छिरेका छन ।
साझा पुरौ टाटपल्टिने अवस्थामा पुग्दा पनि महाप्रबन्धक शर्माले भने करारमा नेताका र आफ्ना मान्छेलाई जागिर खुवाउन छाडेका छैनन् । भएका कर्मचारीले तलब खान नपाउने अवस्था हुँदा पनि शर्माले भने पिएदेखि सञ्चार अधिकृत जस्ता पद सिर्जना गरी कर्मचारी भर्ना गरेका छन । शर्माको यस्तै अवस्थाबाट आजित भएका स्रष्टाहरुले साझालाई छपाइका लागि दिएका पाण्डुलिपि फिर्ता माग्न थालेका छन । यता शर्मा भने विगतको नेतृत्वले भ्रष्टाचार गर्दा साझा डुबेको र अाफूले जोगाउने कोशिश गरिरहेको बताउँछन ।
प्रकाशित मिति : २३ असार २०७५, शनिबार ०८:१७