२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा नै सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

पत्रमा भनिएको थियो “नेपालको संविधान धारा १०० को उपधारा १ बमोमिज आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्मत् २०७८ साल बैशाख २७ गते सोमबारको दिन अपरान्ह १ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरेको छु । ” अधिवेशन औपचारिक रुपमा सुरु भएसंगै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढेको छ । त्यसको लागि सभामुख सापकोटाले सोमबार नै बस्ने तेश्रो बैठकको समय तोक्नुभएको छ ।

सभामुखले सापकोटाले भन्नुभयो “प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १ सय को उपधारा १ बमोजिम आफु माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली २०७५ कोे नियम १५२ को उपनियम २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावको सूचना दिनुभएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम आजै मिति २०७८ बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको तेश्रो बैठकको समय तोकेको व्यवहोरा जानकारी गराउन चाहन्छु । ”

त्यसअघि गणतन्त्र र लोकतन्त्र प्राप्तीका लागि जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो । त्यसपछि सभामुख सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो । यसैबीच प्रतिनिधिसभाको दोश्रो बैठक अहिले सुरु भईसकेको छ ।

प्रकाशित मिति : 13:57