पार्टी विभाजन राेक्न गण्डकीका ११ एमाले जिल्ला अध्यक्षहरुको संयुक्त आग्रह
२४ वैशाख, काठमाडाैँ । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गर्नुभएकाे छ । शुक्रबार गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गर्नुभएकाे हाे ।
वक्तव्यमा भनिएकाे छ, ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’ ।
विज्ञप्तिमा पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनलाई समेत धक्का पुगेको बताउँदै पार्टी एकता जोगाउन आग्रह गरिएकाे छ । ‘नेपाल कम्युनिष्ट पार्टी एमाले एउटा जीवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । विगतका वर्षदेखि आन्तरिक अन्तरविरोध देखापरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीमा क्षति पुर्याएको हामीले महसुस गरेका छौँ । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मसात गर्दै आदरणीय नेताहरु एकताबद्ध भइ एमाले जोगाउन आग्रह गर्दछौँ ।’
वक्तव्यमा लमजुङका अध्यक्ष धनञ्जय दवाडी, कास्कीका कृष्णबहादुर थापा, तनहुँका केदार सिग्देल, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका अध्यक्ष रोसन गाहालेहस्ताक्षर गर्नुभएकाे छ । माओवादीबाट आएका स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद शर्मा (पारस) बाहेक बाँकी अध्यक्षहरु २ जेठ २०७५ अगाडिको एमाले जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएकाे हाे ।

प्रकाशित मिति : 18:14









