२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपाल समूह एमाले नेतृत्वकै सरकारको पक्षमा, प्रधामन्त्रीलाई विश्वासको मत दिने !

२१ वैशाख, काठमाडौँ । विभिन्न कारणले विभाजनको संघारमा पुगेको नेकपा एमाले जोगाउनका लागि दोस्रो पुस्ताका नेताहरूले पछिल्ला दिनमा दौडधुप गरिरहेका छन । हुनत शीर्षस्तरमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा पनि संवाद नभएको होइन ।

सरकारी नियुक्तिमा आफ्ना मान्छेले भाग नपाएको भनेर सुरू भएको माधवकुमार नेपालको असन्तुष्टि नेकपा विभाजनदेखि एमाले विभाजनकै बिउ बन्ने धेरैले शंका गरिरहेका छन । अहिले पार्टीभित्र माधव नेपाल समूहका केही नेतामाथि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जे गरिरहेको छ हिजो प्रचण्डसँग मिलेर बहुमत हुँदा माधव नेपालले गर्न खोजेका गतिबिधि हुन ।

विगतमा लामो समय संस्थापन पक्ष भएर पार्टीमा हालिमुहाली गरेका तर अहिले ओली नेतृत्वको एमाले बनेपछि धेरै हालीमुहाली गर्न नपाएका केही नेताबाहेक नेपाल समूहका धेरै नेता पार्टी एकताको रक्षा गर्नुपर्नेमा छन । कतिपय नेताले वैशाख २७ गते संसद बैठक अघि नै सामूहिक राजिनामा दिनुपर्ने प्रस्ताव लिएर गएका छन भने कतिपयले पार्टी भित्र जति अन्तरद्भन्द्ध भए पनि संसदको फोरममा एमालेको उम्मेदवारको विरूद्धमा उभिन नहुने बताएका छन ।

मंगलबार दिँउसभर भएको माधव नेपाल समूहको भेलामा सहभागी भएका एक नेताका अनुसार केही विकल्पमा छलफल भैरहेको भए पनि पार्टी एकता रक्षा गर्ने विकल्पमा धेरै जनाको सहमति रहेको छ । ती नेताका अनुसार प्रधानमन्त्री ओलीलाइ नैतिक रूपमा पराजित गराउन एमालेभित्रै बसेर छलफल र बहसमा सहभागी हुनुपर्ने विषय बढी उठेको छ ।

अहिले कतिपय नेता निलम्बनमा रहेको र कतिपयलाइ स्पष्टिकरण सोधिएको सवालमा फेरि ओली समूहले थप कार्बाही गरेर अघि बढ्ने हो कि भन्ने संशय छ भने पछिल्लो दिनमा दुबै समूहका दोस्रो पुस्ताका नेताहरूको बीचमा भैरहेको छलफलले एमालेका सांसदहरू २७ गतेको संसद बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाइ विश्वासको मत दिने सवालमा एक्मत जस्तै रहेका छन ।

मंगलबार दिउँसैदेखि कतिपय सञ्चार माध्यमले सामूहिक राजिनामाको विषय बाहिर ल्याएपनि त्यस्तो विषयमा आज यतिखेरसम्म कुनै निर्णय नभएको र त्यस्तो निर्णय हुने सम्भावना पनि कम रहेको दैनिकीको सम्पर्कमा रहेका ती नेताले जानकारी दिए । उनले केही साथीले त्यस्तो विषय छलफलमा प्रवेश गराएको भए पनि अधिकांश भन्दा धेरै सांसद पार्टी जोगिने बाटोबाट अघि बढ्नुपर्ने पक्षमा रहेका छन । यद्यपी केही दिनमा एउटा सामूहिक निर्णय आउने ती नेताले बताए ।

प्रकाशित मिति : 22:28