२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कोभिडको असरलाई सम्बाेधन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन मुख्यमन्त्री पाैडेलको निर्देशन

२१ वैशाख, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेलले कोभिडको असरलाई सम्बाेधन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन प्रदेश अन्तर्गतका मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार मुख्यमन्त्री कार्यालयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउँदै मुख्यमन्त्री पाैडेलले अन्तर-मन्त्रालयगत समन्वय कायम गरेर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले बिगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधार भई तर्जुमा हुनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री पाैडेलले नीति तथा कार्यक्रम र बजेट वीच तादाम्य हुने गरी मात्र नीति तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने भएकोले यसमा ध्यान दिनपनि अाग्रह गर्नुभयो ।

सोही कार्यक्रममा माननीय मुख्यमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकार जे.एन. थपलियाले दोहोरो नपर्ने र जन जीविकासंग जोडिने कार्यक्रमहरुको तर्जुमा हुनु पर्ने बताउदै नीतिहरु कार्यान्वयन योग्य हुनुपर्ने निर्देशन दिनुभयो। कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द प्रसाद पौड्‍यालले बजेट, कार्यक्रम र नीति वीच अन्तर सम्बन्ध हुने भएकोले तीन वटै विषयहरुलाई सवै विषयगत मन्त्रालयहरूले ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानून वा निर्देशिका आवश्यक पर्ने भएमा सवै विषयगत मन्त्रालयहरुले सो पहिल्याई अग्रिम रुपमा मस्यौदा तयार पार्दा कार्यान्वयमा सहज हुने वताउनु भयो। कार्यक्रममा बागमती प्रदेशका सात वटै मन्त्रालयका सचिवहरुले नीति कार्यक्रमका सम्बन्धमा आ-आफ्नो भनाइहरु प्रस्तुत गर्नु भएको थियो।

प्रकाशित मिति : 19:31