सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको छः प्रधानमन्त्री ओली
१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताउनुभएको छ । मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले यो कुरा बताउनुभएको हो ।
प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गर्नु भएको थियो ।उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताउनुभयो । शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैँ समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उहाँले बताउनुभयो ।
कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको धारणा पनि प्रधानमन्त्रीको थियो । प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग –कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो ।
कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देृश्य प्रतिष्ठानको छ ।नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ । इ पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।
प्रकाशित मिति : 16:16









