८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

काठमाडौँ महानगरपालिकाको एक वर्षमा ६० वटा आयोजना सम्पन्न

१९ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ ।

लैनचौरमा आज आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा उक्त वडाले आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न भएका निर्माण कार्यको विवरण प्रस्तुत गरेको हो ।

प्रमुख पर्यटकीयस्थल ठमेलदेखि गोँगबु क्षेत्रसम्म रहेको उक्त वडामा बाटो कालोपत्रे, ब्लक तथा ढुंगा छाप्ने, ढल तथा मंगल निर्माण, सडक बत्ती जडान, ढुंगेधारा निर्माण तथा मर्मत, इनार निर्माण, रेलिङ हाल्ने काम सम्पन्न भइसकेको जनाइएको थियो ।

यस्तै रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण, रिटेनिङ वाल निर्माण पनि गरिसकिएको सो अवसरमा उल्लेख गरिएको थियो ।

यस वडालाई महानगरकै उत्कृष्ट वडा निर्माण गर्न लागिएको जानकारी गराउँदै वडाध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो, “कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमा निवेदन दिनुहोस्, हामी समस्या समाधान गर्न तयार छौँ ।”

वडाले आर्थिक वर्ष २०७५÷७६ का लागि ३० वटा आयोजना प्रस्ताव गरेकामा ठमेल प्रवेशद्वार निर्माण, पुरानो वडा कार्यालय भवन मर्मत, वडाभित्र सार्वजनिक स्थलमा वृद्धका लागि गोलघर निर्माण, बाटो मर्मत, सार्वजनिक शौचालय निर्माणजस्ता योजना छन् ।

कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही रु १२ हजार नगदसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उक्त वडामा ८५३ ज्येष्ठ नागरिक, ४११ एकल महिला, १५ पूर्ण अपांगता भएका व्यक्ति र २३ आंशिक अपांगता भएका व्यक्ति बसोवास गर्दै आएका छन् ।

प्रकाशित मिति : 13:39