१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पत्रकार महासंघ नुवाकोटको विवादः बदरमत गनेर अविर लगाउनेको पद चट

२ वैशाख, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा बदरयोग्य मत गणना गरेर विजयी भएको भन्दै अविर लगाउनेहरूको पद एक सातामै चट भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले वदरयोग्य मत गनेर विजयी घोषणा गरिएको निर्वाचन बदर गर्दै पुन मतदान गराउने निर्णय गरेको छ ।

बिहीबार नेपाल पत्रकार महासंघकाे केन्द्रीय निर्वाचन समितिले पूर्ण बैठकले नुवाकोटमा पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै केन्द्रीय निर्वाचन समितिको निर्देशन अवज्ञा गरेर हतारमा अविर पहिरिएर विजयी घोषणा गरेर पदबहाली गरेकाहरूको पद चट भएको छ ।

महासंघमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरूले कानुन अनुसार बदर हुने मत गणना हुन नसक्ने अडान राखेपछि ती सबैलाइ बाहिर राखेर एक पक्षीय रूपमा मतगणना गरी नतिजा सार्वजनिक गरिएको थियो । प्रेस चौतारी नेपाल, प्रेस युनियन, जनपत्रकार संगठन र केही स्वतन्त्र उम्मेदवारले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गरेको छ । ती संगठनका उम्मेदवारहरूले निर्वाचन समितिमा उजुरी नै गरेका थिए ।

अध्यक्षका उम्मेदवार नारायण नेपाल, उपाध्यक्षका उम्मेदवारहरू नवदिप श्रेष्ठ, नवराज सुवेदी र रूपा अर्याल, स्वतन्त्र रूपमा कोषाध्यक्षको उम्मेदवार बनेकी गमला लामा र केन्द्रीय परिषद् सदस्यका उम्मेदवार देवचन्द्र भट्टले संकेत भएका मतपत्रको मत बैध मान्न नसकिने बताएका छन । उनीहरूले जिल्लाको निर्वाचन समितिमा गरिएको उजुरीको सुनुवाइ नभएकाले केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार बदर हुने मत गन्न नसकिने अडान राख्दा उपाध्यक्षकी उम्मेदवार रूपा अर्यालमाथि गैरपत्रकारको प्रतिनिधित्व गर्दै महासंघमा उम्मेदवार भएका केहीले हातपात गरेका थिए । त्यसपछि बदर हुने मत गन्न नपाइने अडान राख्ने टोली बाहिरिएको थियो ।

महासंघको नेतृत्वको लागि अध्यक्षमा पूर्व अध्यक्ष कपिलदेव खनाल र नारायण नेपालले प्रतिस्पर्धा गरिरहेका छन ।

यो पनि पढ्नुहोस्

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र प्रहरी नियन्त्रणमा, भोलि काठमाडाैँ पठाइने

–पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्षको घरमा भेटियो

–पत्रकार महासंघ नुवाकोटमा बदर मत गणना गरेर विजयी घोषणा, निर्वाचन रद्द गर्न उजुरी

प्रकाशित मिति : April 15, 2021 at 5:54 pm