२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महाकालीमा पानीको बहाव बढ्याे, वनवासा पुल बाट चार पाङग्रे सवारीकाे आवागमनमा रोक

१८ असार,भीमदत्तनगर । आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ ।पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक डिकरदेव पन्तले जानकारी दिनुभयो ।उहाँका अनुसार सोमबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५ सय क्युसेक मापन गरिएको छ । जुन यस वर्षकै उच्च बहाव हो ।

‘आज बिहानको भन्दा पानीको बहाव बढ्दै गएको छ ।” प्रहरी नायब निरीक्षक पन्तले भन्नुभयो, “वनवासा पुलमा दुई पाङग्रे सवारीसाधन र पैदलयात्रुलाई भने आवागमन खुल्ला नै छ ।”

सोमबार दिउँसोपछि पुलमा आवागमन बन्द हुँदा खासगरी लामो दुरीका यात्रु समस्यामा परेका छन् । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षात्का बेला संयमता अपनाउन आग्रह गरिएको छ ।यसैगरी, कञ्चनपुर महाकाली नगरपालिका–१० मा पानीको निकास नहुँदा केही घर डुबानमा परेको स्थानीय सुरेश गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १८:२०