१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’

३१ चैत, काठमाडाैँ । आइएनजी समुह अन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ्ग मोबाइल एप्लिकेशन माइ सेकेण्ड टिचर राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ । नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रियहरुका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ्ग रेगुलेसन अनुसार नेपाल क्रिकेट संघ सोमबार सम्झौता गरेको हो ।

सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै स्थानहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिनेछ भने आइएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्नेछ । नेपाली क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार प्रदान गरेको एड प्याड मार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो । क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो ।

“नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनका लागि कार्यरत इनोभेट टेकसँग सहकार्य गर्न पाउदा हामी निकै हर्षित छौं,” सम्झौता हस्ताक्षर कार्यक्रममा अनुपस्थित रहेका नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले एक प्रेस बिज्ञप्ति मार्फत भनेका छन् । “यो साझेदारी नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको महत्वको बिषयमा प्रबद्र्धन गर्न मद्दत पुर्याउने छ ।”

“राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध हुन पाएकोमा हामी क्यान र एड प्याड प्रति कृतज्ञ छौं । यो साझेदारीपछि खेलकुदको माध्यमबाट हामी हाम्रो एप्लिकेशन मात्र नभएर शिक्षालाई नै प्रबद्र्धन गर्न सक्नेछौं । माइ सेकेण्ड टिचर नेपालकै पहिलो लर्निङ्ग एप्लिकेशन हो र सबै तहका बिद्यार्थीहरु समक्ष पुग्न हामीलाई यो सहकार्यले मद्दत गर्नेछ,” माइ सकेण्ड टिचरका को–फाउण्डर र आइएनजी ग्रुपका अध्यक्ष सुलभ बढाथोकीले भने ।

एड प्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले आफ्नो कम्पनीले नवीन शैलिको साझेदारी मार्फत व्यापारलाई खेलकुदसँग जोड्ने सिद्धान्त अनुरुप नै इनोभेट टेक नेपाली क्रिकेटमा भित्र्याएको बताए ।

प्रकाशित मिति : April 13, 2021 at 11:51 am