२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमालेको बागमती प्रदेशका सबै जिल्ला कमिटी अधिवेशन आयोजक कमिटीमा रूपान्तरण

२९ चैत, काठमाडाैँ । नेकपा एमाले बागमती प्रदेशले आगामी भदौंभित्र १३ जिल्लाको अधिवेशन गरिसक्न निर्देशन दिएको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले चितवनबाहेक १३ वटै जिल्लामा अध्यक्ष र सचिव तोकेर अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

एमाले बागमती प्रदेश कमिटीका इञ्चार्ज रामबहादुर थापा बादलको प्रमुख आतिथ्यतामा बसेको बैठकले वैशाख २० गते १३ वटै जिल्ला कमिटी पुनर्गठन गरी बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । एमाले बागमति प्रदेशमा इञ्चार्ज थापा, सहइञ्चार्ज काहीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ, अध्यक्षमा आनन्दप्रसाद पोखरेल र सचिव खेम लोहनी हुनुहुन्छ ।

बैठकले गत पुस ५ मा नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका जिल्ला अध्यक्षलाई नै निरन्तरता दिइएको छ । सचिव भने केही जिल्लामा नयाँ चयन भएका छन् । बैठकले चितवनको हकमा भने तत्कालीन अध्यक्ष कृष्णभक्त पोखरेल संस्थापन पक्षमा फर्कनुभएको कारण उहाँकै अध्यक्षतामा बैठक बसेर पार्वती रावललाई अध्यक्ष बनाइ जिल्ला अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको छ । यस्तै काठमाडौंमा सचिव चयन गर्न बाँकी रहेको छ । बैठकले ३२९ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ ।

कमिटीमा यसअघि नेकपाकालीन प्रदेश सदस्य रहेका माधव नेपाल पक्षधरलाई पनि यथावत राखिएको छ भने १२ जना माओवादी नेताहरू एमालेकै प्रदेश कमिटी सदस्य रहनुभएको छ । प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठकले सबै जिल्ला अधिवेशन आयोजक कमिटीमा अध्यक्ष र सचिव रहने र असार मसान्तभित्र सदस्यता नवीकरण गरी भदौभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको छ । यसैगरी वैशाख २५ गते प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहमा एकै दिन कमिटी पुनर्गठन गरी सम्मेलन आयोजक समितिको बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : 19:39