मलाई सांसद पदबाट हटाउने हैसियत प्रचण्डसँग छैनः प्रभु साह
२६ चैत, काठमाडाैँ । सहरी विकास मन्त्री प्रभु साहले आफ्नो सांसद पद खोस्ने हैसियत प्रचण्डसँग नरहेको बताउनुभएकाे छ । मन्त्री साहसहित ४ जना सांसदलाई मंगलबार पदमुक्त गरेपछि प्रतिक्रिया जनाउँदै मन्त्री साहले आफू जनताको मतबाट निर्वाचित भएकोले सांसद पद खोस्ने हैसियत मतदातासँग मात्र भएको बताउनुभएकाे हाे ।
मन्त्री साहले अहिले प्रचण्डले चालेको कदम कुहिरोजस्तै क्षणिक मात्र भएको समेत बताउनुभयाे । आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केही पनि प्रयोग नगरेको बताउँदै मन्त्री साहले आफ्नो व्यक्तित्व र घोषणापत्रको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउन कुनै पनि नैतिकताले नमिल्ने बताउनुभयाे ।

मन्त्री साहले भन्नुभयाे,“मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु। कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको। आफ्नो व्यक्तित्व, घोषणापत्र र जनताको विश्वासले चुनाव जितेको छु। चुनाव जित्नमा थौरै पनि भूमिका नभएको प्रचण्डले कुन नैतिकताले मेरो पद खोस्ने हैसियत राख्छ?’ उहाँले भन्नुभयाे, ‘मलाई पदबाट हटाउन सक्ने हैसियत मेरो जनतासँग मात्र छ। आफू चुनाव जित्न अरुको वैसाखी खोज्ने, मतपत्र च्यात्ने र बत्ती निभाउनेले मेरो पदको मालिकत्व प्रस्तुत गर्ने कुरा हास्यास्पद छ।’
मन्त्री साहले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनाव लडेर देखाउन भन्दै मन्त्री साहले प्रचण्डलाई चुनावमा आउन चुनौती दिनुभयाे । चुनावको नाममा आफू आतंकित हुने प्रचण्डहरुले लोकतान्त्रिक विधिबाट चुनाव जित्नेलाई पदबाट हटाएर लोकतन्त्र र जनताको मतको अपमान गर्ने अपराध गरेको समेत मन्त्री साहले बताउनुभयाे ।
प्रकाशित मिति : 14:42









